खजुरा, ६ फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले विभिन्न आन्दोलनका नाममा नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृतिको अन्त्य गर्नु पर्ने बताउनु भएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले नेपाली नागरिकले दुःख पाउने, नागरिकले ज्यान गुमाउने आन्दोलनलाई उकास्ने कार्यको बिरोध गर्दै कांग्रेसले त्यसको अन्त्यको लागि काम गर्ने बताउनु भयो ।
विभिन्न आन्दोलनका नाममा देशका सार्वजनिक सम्पदा, सार्वजनिक सम्पक्ति र महत्वपुर्ण कार्यालय जलाउने कार्यलाई कुनै पनि राजनितिक दलले प्रसय दिने काम गर्न नहुने बताउनु भयो ।

समाज भडकाउने, धर्म, संस्कृति र जातीय विभेदलाई बढावा दिने कुनै पनि राजनितिक दल र नेताको भनाईमा विश्वास नगर्न पुनले बाँके क्षेत्र नम्बर ३ का मतदातालाई अनुरोध गर्नु भएको छ ।
उहाँले भन्नु भयो, ‘यो देशको समृद्धि हामी सबै मिलेर गर्ने हो । हिमाल, पहाड र तराईमा बस्ने सबै नागरिकका समस्यालाई हामीले सम्बोधन गर्ने प्रयास गर्नु पर्छ । नागरिक प्रति सबै राजनिति दल उत्तरदायी हुनुपर्छ । तर यहाँ नागरिकका समस्या, नागरिकका प्रश्नबाट भाग्ने नेताहरु पनि चुनावी मैदानमा छन् । यसले पनि यहाँहरु नागरिक प्रति कत्ति उत्तरदायी छन् भन्ने देखाउँछ ।’
बाँके क्षेत्र नम्बर ३ को समृद्धिको लागि आफुले इमानदारितका साथ काम गर्ने बताउँदै पुनले भेरी बबई डाईभर्सन, सिक्टा सिचाई आयोजनाको अधुरा काम पुरा गर्न पहल गर्ने बताउनु भयो ।
यसैगरी नेता पुनले नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म नेपाल भारत सीमा क्षेत्रको नागरिकले भोगिरहेका समस्या समाधानको लागि कांग्रेसले नितिगतमा रुपमा पहल थाल्ने प्रतिवद्धता जनाउनु भएको भयो ।
उहाँले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई बाँके क्षेत्र नम्बर ३ को समृद्धिसँग जोडनुपर्ने बताउनु भएको छ ।
प्राविधिक विश्वविद्यालय अहिलेको आवश्यकता भएको बताउँदै सभापति पुनले युवालाई देशमै रोजगार सृजना गर्ने थलोका रुपमा विश्वविद्यालयलाई बनाउन जरुरी रहेको बताउनु भयो ।







