कोहलपुर फागुन ६ : बाँके क्षेत्र नं.१ का नेपाली काँग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेल मतदाताको घरदैलोमा पुग्ने प्रयासमा व्यस्त छन् । तर समयको अभावका कारण सबै मतदातासम्म पुग्न नसकिएको बताउँदै उनले मतदातालाई आफूलाई सम्झेर ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
कोहलपुर नगरपालिका–१२ अन्तर्गत निबुवामा बुधवार आयोजित चुनावी सभामा बोल्दै गौडेलले आफूले प्रत्येक घरमा पुग्ने चाहना राखे पनि चुनावी व्यस्तताले त्यो सम्भव नभएको बताए ।
उनले भने–‘म सबैको घरदैलोमा पुग्न सकेको छैन । तपाईंहरु नै नारायण गौडेल बनेर गाउँ–टोलमा पुगिदिनुहोस् । रुख चिन्हमा भोट हाल्न सबैलाई सम्झाइदिनुहोस् ।’ गौडेलले चुनावी समयमा सबै मतदाताहरुसँग भेटघाट, फोन वा प्रत्यक्ष सम्पर्क हुन नसकेपनि काँग्रेस जिताउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
‘चुनावको चटारोमा सबैलाई सम्झन, भेट्न गाह्रो हुँदो रहिछ । उम्मेदवारले फोन गरेन, भेटेन भनेर मनमा नराख्नुस्’ मतदातालाई सम्झाउँदै गौडेलले भने । निबुवा क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले त्यहाँका नागरिकले भोग्दै आएको समस्या पनि गौडेलले आफ्नो प्राथमिकतामा राखेका छन् । उनले भने–‘यो समस्या भाषणले मात्र समाधान हुँदैन । निकुञ्ज ऐन नै परिवर्तन गर्नुपर्छ । त्यसका लागि म पहल गर्छु ।’ मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वन्यजन्तुजन्य क्षति, आवतजावतको असहजता र विकास निर्माणका अवरोधजस्ता समस्याहरु भोग्दै आएका छन् ।
गौडेलले यी समस्यालाई संसदसम्म पुर्याएर कानुनी समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे । गौडेलले आफ्नो क्षेत्रमा विकास निर्माणका कामहरु पनि क्रमशः अघि बढिरहेको उल्लेख गरे । सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आफूले दीर्घकालीन योजनाका साथ अघि बढ्ने उनले बताए ।

‘विकास एकैचोटि हुने होइन, क्रमशः अगाडि बढ्ने प्रक्रिया हो उनले भने–‘हामीले थालेका कामहरुलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानेछौं ।’ वडा सभापति केशकुमारी ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल, महासमिति सदस्यहरू चिन्तामणि धिताल र द्रोपती ओली, पार्टी प्रवक्ता डिल्ली गिरी लगायतको सहभागिता थियो ।
वडा उपसभापति तेजराज शर्माले स्वागत मन्तव्य राख्दै स्थानीय कार्यकर्ता र मतदातालाई एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन आह्वान गरेका थिए । वडा सभापति ओलीका अनुसार मसुरीखेतमा भएको चुनावीसभालाई पनि काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले सम्वोधन गरेका थिए । त्यहाँ उनले काँग्रेस बदलिएर आएकाले काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । चुनावीसभा पछि उनले चपरगौरी, निबुवा, मसुरीखेत लगायतका ठाउँमा घरदैलो गरेको वडा सभापति ओलीले जानकारी
दिइन् ।








