नेपालगन्ज, फागुन ३ :नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला आइतबार दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त भएका छन् । महाशिवरात्री पर्वको अवसरमा विभिन्न मन्दिरहरुमा पुगेर पुजापाठ गर्दै उपस्थित भक्तजनलाई भेटघाट गरे ।
उम्मेदवार कोइरालाले आइतबार अपरान्ह नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझाँमा रहेको गायत्री मन्दिर, पशुपति मन्दिर, नरबदेश्वर, शिव सन्तोषी, खाटुश्याम, गधैंसिंह सरदार मन्दिरको दर्शन गरेका थिए । सो क्रममा उम्मेदवार कोइरालाले उपस्थित भक्तजनहरुलाई सहयोग गर्न अपिल गरे । ‘आगामी फागुन २१ गतेको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार भई तपाईहरुको आर्शिवाद ग्रहण गर्न आएको छु, आशा एवम् विश्वास छ, मलाई हजुरहरुले विजयी गराएर संसदमा पठाउनु हुनेछ,’ उनले भने ।

आफुले भ्रष्टाचारका विरुद्ध सडक र सदनमा आवाज उठाईरहने र बाँकेको विकासका लागि नेतृत्व गर्ने प्रतिवद्धता जनाए । उम्मेदवार कोइरालाले आइतबार बिहान नेपालगन्जको बागेश्वरी मन्दिर, जुँगे महादेव मन्दिर, डुडुवा-५ पदमपुरमा रहेको शिव मन्दिरको पनि दर्शन गरेका थिए । यस्तै आइतबार बिहान ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जको कार्यक्रममा सहभागी भएर आर्शिवाद ग्रहण गरे । युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदी लगायतले आर्शिवाद दिए ।
मन्दिरहरु दर्शनसहित कोइरालाले विभिन्न संघ, संस्था, क्लबका पदाधिकारीलाई पनि भेटघाट गरेको नेपाली कांग्रेस प्रतिनिधि सभा बाँके क्षेत्र नम्बर २ को प्रचार-प्रसार सचिवालयले जनाएको छ ।








