कोहलपुर, फागुन ४ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेताहरु पनि पार्टीका उम्मेदवार जिताउन अग्रसर भएका छन् । बाँके क्षेत्र नम्बर १ मा
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नारायण प्रसाद गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किएका छन् । सोमवार बिहानको मधुरो घामसँगै गौडेलसंगै खत्री कोहलपुर नगरपालिका वडा नम्बर १० मा पुग्छन् । स्थानीयका ढोकाढोका पुग्दै उनी मतदातासँग हातेमालो गर्दै आफ्ना प्रतिबद्धता सुनाउँछन् ।

वडा कार्यसमितिको आयोजनामा भएको घरदैलो कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरुको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
घरदैलोको क्रममा देखिएको उत्साहले चुनावी माहोललाई गौडेलमय बनाउँदै लगेको देखिन्थ्यो । स्थानीय बासिन्दा घरबाहिर निस्केर उम्मेदवारलाई स्वागत गर्छन्, आफ्ना समस्या राख्छन् र भविष्यका अपेक्षाहरु सुनारहेका थिए । पूर्व क्षेत्रीय सभापति खत्रीले गौडेलको घरदैलो अभियान उत्साहपूर्ण तरिकाले अघि बढिरहेको बताए ।
लामो समयदेखि बाँके क्षेत्र नम्बर १ का जनताको सुखदुःखमा खटिँदै आएका गौडेललाई यस पटक आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा पाउँदा मतदातामा थप उत्साह जागेको खत्रीले बताए । खत्री भन्छन्, “गौडेलजी यहाँका जनताको दुःखसुखसँग नजिकबाट जोडिनु भएको नेता हो । अहिले उहाँ उम्मेदवार बनेपछि स्थानीयले आफ्नो मान्छे चुनावमा उठेको अनुभूति गरेका छन् ।”
घरदैलोमा भेटिएका धेरै मतदाताले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनीहरु भन्छन्, “अबको नेतृत्वले प्रतिवद्धता मात्रै होइन, परिणाम पनि देखाउनुपर्छ । गौडेलले पनि आफ्ना सम्बोधनमा जनताको अपेक्षा बुझ्दै त्यस अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । उनले विकास र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो अभियान अघि बढाइरहेको बताएका छन् ।
अहिलेको काँग्रेस “बदलिएको काँग्रेस, देश बदल्ने अठोट” का साथ जनतामाझ आएकाले पनि मतदाताहरु उत्साहित भएको कोहलपुर नगरपालिका १० का सभापति मेघनाथ भट्टराईले बताए । यही सन्देशले पनि मतदातामा नयाँ उत्साह र विश्वास जगाएको उनको भनाई छ । उनले थपे, “जनताले अब परिवर्तन चाहेका छन् । काँग्रेसले त्यो परिवर्तनको जिम्मा लिने प्रतिबद्धता बोकेको छ
।”








