नेपालगञ्ज, ८ असोज । नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । नेपालगञ्जको बसपार्कस्थित महासंघ कार्यालयमा आज आयोजित कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बेबसाइटको शुभारम्भ गर्नुभयो ।
बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसर पारेर बेबसाइट सञ्चालनमा ल्याइएको महासंघका जिल्ला अध्यक्ष नवीन गिरीले बताउनुभयो । गिरीकै अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष चौलागाईले बाँके शाखाले लुम्बिनी प्रदेशमै पहिलोपटक वेबसाइट शुभारम्भ गरेर आप्नो अव्वलता सिद्ध गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्षद्वय निरज गौतम र प्रेम केसी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रेस संगठन बाँकेका सहसचिव सन्तोष विष्ट र क्रियाशील पत्रकार महिला बाँकेकी उपाध्यक्ष विमला चौधरीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
वेबसाइट डिजाइन र विकास गरेको सफ्टवेयर कम्पनी डटवक्र्स टेक्नोलोजिजका प्रबन्ध निर्देशक अर्सद कमल सिद्दिकीले वेबसाइटमा भएका फिचरबारे जानकारी गराउनुभएको थियो । । उनले उन्नत वेबसाइट बनाइएको जानकारी गराउँदै अहिले सुरुवात गरिए पनि डाटा अपडेट गर्न अझै बाँकी रहेको र काम गरिरहेको बताए ।
बाँके शाखाको वेबसाइट www.fnjbanke.org.np हो ।








