नेपालगञ्ज, ४ असोज । नेपाली कांग्रेस बाँकेले नेपालगञ्जस्थित वीपी चोकमा आज साँझ दीप प्रज्वलन गरेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका नेपालगञ्जका दुई युवासहित ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो ।
जेन्जी आन्दोलनका क्रममा भदौ २३ गते नेपालगञ्ज वडा नं. १ धम्बोझीका सुलभराज श्रेष्ठ र आयुष थापाले शहादत प्राप्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले नवयुवाहरुको चासो र अभियानलाई बुझ्न नसक्दा मुलुकले ठूलो धनजनको क्षति बेहोरेको बताउँदै अब जनताको मनोभावना बुझेर सच्चिँदै अघि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो ।
सभापति गौडेलले दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दै सभापति शेरबहादुर देउबा र केन्द्रीय सदस्य आरजु देउबासहित घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
दीप प्रज्वलन कार्यक्रममा कांग्रेस पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, क्षेत्रीय सभापतिहरु, प्रदेशसभा सदस्यहरु, विभिन्न तह र तप्कामा पदीय हैसियतमा रहेका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो ।








