नेपालगञ्ज, ३ बैशाख । यही बैशाख पाँच गतेदेखि नेपालगन्जमा लागेको सर्वाधिक राशीको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा विद्यार्थीहरुका लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिएको छ ।
आयोजक अन्तरालका अनुसार, नर्मल प्याराफिटतर्प रु २०० मूल्य टिकट रहेकोको विद्यार्थीहरुका लागि पचास प्रतिशत सहुलियतमा रु १०० को टिकटको व्यवस्था गरिएको छ ।
त्यस्तै भीआइपी प्याराफिटतर्प सिजनल टिकटका लागि रु. १५ सय मूल्य कायम गरिएको छ । सिजनल टिकट लिनेको सिट जतिबेला आएपनि सुरक्षित रहने अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिनुभयो ।
दर्शकहरुको सहजताका लागि टिकटहरु ई-सेवा अनलाइनवाट तथा ई-सेवाले नेपालगञ्ज रंगशालाको मूल गेट बाहिर राख्ने काउण्टरवाट खरीद गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै, नेपालगन्जका विभिन्न क्याफेहरुमा राखिएका टिकट काउण्टरवाट समेत सहज तरीकाले टिकट खरीद गर्न सकिने छ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको लुम्बिनी कप फुटबल प्रतियोगितामा भारत सिलगुडीको फुटबल क्लबसंगै आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
मिडिया संयोजक नीरगा गौतमका अनुसार, प्रतियोगिताका विजेता टिमले रु ५ लाख ५ हजार ५५५ र उपविजेता टिमले रु. दुई लाख ५० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।
यसैगरी, प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाइएको छ । वैशाख पाँच गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंगरोगन, खेलाडी आवास तथा यातायातको ब्यबस्था लगायतका काम पूरा भइसकेको छ ।