नेपालगञ्ज, ३१ चैत । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ स्थित कोहलपुर न्यु सिटीमा घडेरी खरीद गर्नेहरुलाई नयाँ वर्ष २०८२ मा छुटको व्यवस्था गरिएको छ । कोहलपुर नगरपालिकाको सीमानासंगै जोडिएको बैजनाथ गाउँपालिकाको उक्त वडामा कोहलपुर डेभलपर्स प्रालिले विशेष योजना ल्याएको हो ।
आज आइतवार कोहलपुरमा भएको पत्रकार भेटघाटका अवसरमा कोहलपुर डेभलपर्सले नयाँ वर्षको अवसर पारेर घडेरी खरीद गरी पाँच महिनाभित्र घर निर्माण गर्ने ग्राहकलाई विशेष अफरको घोषणा गरेको छ । पत्रकार भेटघाटमा कोहलपुर डेभलपर्स प्रालिका सिभिल इन्जिनियर रविन खड्काले ग्राहकले घडेरी खरिद गर्दा मालपोत कार्यालयमा तिर्नुपर्ने रजिष्ट्रेशन शुल्क र राजश्व प्रालिले नै भुक्तानी गरिदिने, घडेरी खरिदको मूल्यको ५० प्रतिशत बैंक फाइनान्स सुविधा र दुई तलासम्म घर निर्माण गर्दा त्यसमा लाग्ने सिमेन्ट र ईटामा ५० प्रतिशतसम्म प्रालिले नै बेहोर्ने बताउनुभयो ।
त्यस्तै, कोहलपुर न्यु सिटीका व्यवस्थापक सुरेश आचार्यले न्यु सिटी स्थानमा ५०० बढी पूर्वाधारयुक्त घडेरीको प्लटिङ्ग गरी विक्री वितरण गर्दै आएको जानकारी दिनुभयो । प्लटिङ्ग क्षेत्रभित्र ८ धुरदेखि १२ धुरसम्मका घडेरी खरिद गर्न सकिने बताइएको छ । कोहलपुर न्यु सिटीमा कालोपत्रे सडक, विजुली बत्ती, सतही पानी निकास, खानेपानी, निर्माणाधीन अस्पताल, नगर बसपार्क, प्रहरी चौकी तथा निजि विद्यालयहरु समेत रहेका छन् ।
कोहलपुर न्यु सिटी २० विगाहा क्षेत्रफलमा फैलिएको छ । नेपालगन्ज विमानस्थलबाट १८ किलोमिटर तथा कोहलपुर चौराहाबाट ६ किलोमिटर पश्चिम र पूर्व पश्चिम राजमार्गदेखि ४५० मिटर दक्षिणमा अवस्थित कोहलपुर न्यु सिटीलाई वृक्षारोपण गरेर वातावरणमैत्री क्षेत्र बनाइएको इन्जिनियर खड्काले बताए । उनका अनुसार त्यसभित्र मुख्य सडक ७ मिटर र सहायक सडक ५ मिटर चौडाईका छन् । मुख्य सडकमा प्रति धुर ५ लाख २५ हजार र सहायक सडकमा ४ लाख २५ हजारमा घडेरी खरिद गर्न सकिन्छ । हालसम्म डेढ सय खडेरी विक्री भइसकेको कोहलपुर न्यु सिटीका व्यवस्थापक आचार्यले बताए । आचार्यका अनुसार डुबानको समस्या नहुने गरी प्लानिङ गरिएको छ ।
कोहलपुर डेभलपर्सले कोहलपुर न्यु सिटीभित्र सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण कामहरु समेत गरिरहेको इन्जिनियर खड्काले बताउनुभयो । खानेपानी आयोजनाको लागि तीन कट्ठा, प्रहरी विटका लागि दुई कट्ठा, बसपार्क क्षेत्रलाई ६ कट्ठा र वैजनाथ गाउँपालिकाको निर्माणाधीन १५ शैयाको अस्पतालका लागि ११ कट्ठा जमिन निःशुल्क उपलब्ध गराइएको छ । पत्रकारहरुको टोलीले कोहलपुर न्यु सिटी क्षेत्रको आजै स्थलगत अवलोकन पनि गरेका थिए ।