नेपालगञ्ज, २२ मंसिर । दशौं संस्करणको नेपालगञ्ज म्याराथनको उपाधी नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । खड्काले ४२ दशमलव १९५ किलोमिटरको दुरी दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै उपाधी जितेका हुन् । उपाधी जितेका खड्का गत संस्करणका उपविजेता र त्यसभन्दा अघिल्लो संस्करणका विजेता हुन् ।
दोस्रो र तेस्रो स्थान क्रमशः नेपाली सेनाकै राजन रोकाया र सुशील कुमारले जितेका छन् । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा र शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पूरा गरेका थिए ।
म्याराथनका विजेता खडकाले दुई लाख तथा दोस्रो र तेस्रो स्थान जितेका रोकाया र शाहीले क्रमशः एक लाख र पचास हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी, महिला हाफ म्याराथनको उपाधी लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जितेकी छन् भने पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भएका छन् । उनीहरुले क्रमशः नगद ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन् । सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्स पूरा गरिन् । दोस्रो भएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गरिन् । तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेन्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेन्डमा पूरा गरेकी थिइन् ।
नेपालगञ्ज म्याराथनमा पाँच किलोमिटरको स्कुलस्तरीय छात्रछात्रा, किड्स रन, पाँच किमि कर्पोरेट रन, पाँच किमि ट्राइसाइकल र पाँच किमि वाकाथन लगायतका विधाहरु पनि समावेश गरिएका थिए ।