बर्दिया, १९ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं. ८ बालविवाहमुक्त भएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको परियोजनात्मक कार्यक्रमवाट गाउँपालिकाको वडा नं. ८ लाई बालविवाहमुक्त गर्न सकिएको हो ।
सो वडालाई बालविवाहमुक्त गर्न त्यहाका जनप्रतिनिधि, धर्मगुरु, राजनीतिक दलका अगुवा, सामाजिक कार्यकर्ताहरुको पनि महत्वपूर्ण योगदान रहेको वडा अध्यक्ष तेजनाथ पौडेलले बताउनुभयो ।
बालविवाहमुक्त घोषणा सभामा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकालले बर्दिया जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउन सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका मुख्य सल्लाहकार लक्ष्मण ज्ञवाली, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीलगायतले पनि बोल्नु भएको थियो ।
घोषणा सभामा नेपाल आइडलका बिजेता करण परियारलगायत स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती रहेको थियो ।