नेपालगञ्ज, ३२ साउन । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्तीनदी सिधनियाघाटमा गंगा महाआरती हुनेभएको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नंं ४ राप्तीनदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो । महाआरती यही भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाका दिन सोमवार साँझ ६ बजेदेखि हुनेछ ।
राप्तीनदी क्षेत्र तथा श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गर्न लागिएको हो ।
स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा सुरु हुने महाआरतीलाई प्रत्येक महिनाको पूर्णिमाका दिन नियमित रुपमा गरिने छ । महाआरतीको तयारी अहिले तिब्र रुपमा भईरहेको स्थानीय अगुवा सूर्यलाल यादवले बताउनुभयो ।
नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम काँवारिया, दशैमा दुर्गामुर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दाहलगायतका कार्यक्रमहरु हुने गरेको छ ।
राप्ती नदी, पुल, मन्दिर र निर्माण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्ने र हिन्दु धर्मलाई प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ ।
राप्ती नदीमा अहिले डुडुवा गाउँपालिकाको सहयोगका शवदाह केन्द्र निर्माण भइरहेको छ भने बैकुण्ठधाम सिधनियाघाट निर्माणको क्रममा रहेको छ ।