नेपालगञ्ज ११ माघ । नेपालगन्जमा आजदेखि प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सुरु भएकोछ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्का, सदस्यसचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको उद्घाटन गर्नुभयो । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा नेपालगन्ज रंगशालाको कवर्ड हलमा प्रतियोगिता सञ्चालन गरिएको छ ।
प्रतियोगितामा देशभरबाट झण्डै २५० खेलाडी सहभागी रहेको बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार, तीन दिनसम्म संचालन हुने प्रतियोगितामा करिब २२ लाख खर्च हुने आकंलन गरिएको छ ।
पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्समा गरी ५ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारको ब्यवस्था गरिएको छ । पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेलाई जनही १५ पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यस्तै, महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५÷१५ हजार प्राप्त गर्नेछन् । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउँनेछन् ।
यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियागिताको पहिलो दिन आज पहिलो र दोस्रो चरणका ६७ खेल सम्पन्न भएका छन् । भोली प्रिक्वाटर र क्वाटर फाइनलका खेलहरु बिहान ८ः३० बजेदेखि सञ्चालन हुने बताइएको छ ।
२५ वर्षपछि नेपालगञ्जमा राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । यसअघि २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो ।