नेपालगञ्ज, १२ माघ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त संकलन घुम्ती बस सेवा संचालन गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आज बाँके रेडक्रसलाई रक्त संकलन बस हस्तान्तरण गरेपछि उक्त सेवा संचालनमा ल्याइएको हो ।
नेपालगञ्जमा भएको एक कार्यक्रमका बीच एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालगञ्जका कार्यवाहक मेयर कमरुद्दिन राई र रेडक्रस बाँके शाखा सभापति गोवर्धन सिंह सम्झनालाई बसको साँचो हस्तान्तरण गर्नुभएको थियो ।
वातानुकुलित रक्त संकलन बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, फ्रीज, आराम कक्षसहितको अत्याधुनिक सुविधा रहेको छ ।
कार्यक्रममा कार्यवाहक मेयरले रक्त संकलन घुम्ती बस सेवा स्वास्थ्य क्षेत्रका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएका अध्यक्ष डा. केसीले मुलुकको विभिन्न क्षेत्रमा एनआरएनले सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार टेकबहादुर कार्की, नेपाल रेडक्रस लुम्बिनी प्रदेश महासचिव नवराज ढुंगाना, रक्तदाता संस्थाका तर्फबाट जनमत अर्धसाप्ताहिकका पूर्णलाल चुकेलगायतले पनि बोल्नुभएको थियो ।