नेपालगञ्ज, २२ असोज । सरकारले भोलि असोज २३ गते राष्ट्रिय शोकको घोषणा गरेको छ । पालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी इजराइलमा १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयवाट सरकारले उक्त घोषणा गरेको हो ।
राष्ट्रिय शोकका दिन भोलि देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले आतंकवादी समूहको आक्रमणमा ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।
मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने र मृतक प्रतिपरिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय समेत भएको जनाइएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.