नेपालगञ्ज, ३ मंसिर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भोलि मंसिर गते ४ ढुक्क भएर मतदानमा भाग लिन आव्हान गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ भन्नुभयो ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत् संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको थपलियाले बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा कानून पालनामा आयोगले विशेष सजगता अपनाएको बताउनुभयो ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदानकार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमन भइरहेको उहाँको भनाइ छ । यसका साथै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको थपलियाले बताउनुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.