नेपालगञ्ज, ३० कात्तिक । भोलि मंसिर १ गतेवाट भारतसंगका सबै सीमानाका बन्द हुने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी सीमानाका बन्द गर्न लागिएका हुन् ।
सरकारले भारतीय सीमा अधिकारीसंग समन्वय गरेर मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । सीमानाका बन्दको अवधि ७२ घण्टाको रहनेछ । यो अवधिमा अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न दिइने व्यवस्था मिलाइएको छ ।
यसैगरी, सरकारले निर्वाचन प्रयोजनका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मतदानस्थल रहेका विद्यालयमा भने मंसिर २ गतेदेखि मंसिर ५ गतेसम्म बिदा दिने निर्णय गरिएको छ ।