नेपालगञ्ज, २५ भदौ । नेपालगन्ज निवासी प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचाजी’को ९४ औँ जन्मजयन्ती आज रचनात्मक कार्यक्रमको आयोजना गरि मनाइएको छ । जन्मजयन्तीका अवसरमा पन्नालाल गुप्ता प्रतिष्ठानले बाँकेका पत्रकारहरुका लागि निशुल्क मिर्गौला परीक्षणको व्यवस्था मिलाएको छ ।
नेपालगन्जको सेन्ट्रल सिटी हस्पिटल तथा किरणप्रभा युरो केयर रिसर्च सेन्टरको सहसंयोजनमा पत्रकारहरुको निःशुल्क मृर्गौला परीक्षण गरिएको छ । रिसर्ज सेन्टरका प्रमुख डा. दिपेश गुप्ताका अनुसार, एक सय बढी पत्रकारको मिर्गौला परीक्षणका साथै रक्त परीक्षणसमेत गरिएको छ ।
चाचाजीको जन्मजयन्तीकै अवसरमा भदौ २७ गते संस्थागत रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्ताले जानकारी दिनुभयो ।
यस्तै बाँकेका वरिष्ठ पत्रकारहरुले नेपाली पत्रकारितामा चाचाजीको योगदान अतुलनिय रहेको बताएका छन् । वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, जे पाडे, शुक्रऋषि चौलागाई, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारीलगायतले चाचाजीको सादगीपूर्ण जीवनशैली र पत्रकारिताप्रतिको अटुट माया नेपाली समाजका लागि कालजयी रहने धारणा व्यक्त गर्नुभयो ।