नेपालगञ्ज, १० भदौ । नेपाली कांग्रेस, बाँकेले आजदेखि चुनाव लक्षित अभियान संचालन गरेको छ । ‘जनताको साथमा कांग्रेस’ नाम दिइएको चुनावी अभियानको जिल्ला कार्यसमिति बाँकेले नेतृत्व गर्ने सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।
बाँके कांग्रेसले आज आयोजना गरेको पत्रकार भेटघाटमा सभापति गौडेलले अभियानको कार्ययोजना तय गर्न प्रदेश क्षेत्रीय समिति र पालिका समितिसंग समन्वय गरिनेछ भन्नुभयो । भदौ २४ गतेसम्म संचालन हुने अभियानका लागि सबै पालिकामा प्रतिनिधि खटाइने र भातृ तथा शुभेच्छुक संगठनलाई परिचालन गरिने कार्ययोजना समेत तय गरिएको जनाइएको छ ।
बाँकेमा प्रदेश र संघको निर्वाचन जित्न कांग्रेस आपैm सक्षम रहेको बताउदै सभापति गौडेलले केन्द्रवाट दलिय तालमेलको निर्णय भएमा त्यसलाई मानेर जाने स्पष्ट पार्नुभयो । सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्ध अभूतपूर्व रहेको बताउँदै आउने चुनावमा पनि यस्तै सुखद नतिजा हात पार्ने अभियानमा अर्जुनदृष्टिका साथ लागेको बताउनुभयो ।
पत्रकार भेटघाटमा प्रदेश कमिटी सदस्य प्रमेश्वरी पाठक, तरुण दलका पूर्व महासचिव एवम् कांग्रेस नेता हुर्मत न्यौपाने, कांग्रेस बाँकेका उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेनुसिंह ठाकुर र विनोदकुमार थारु, प्रवक्ता डिल्ली गिरीलगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा बाँके कांग्रेसले कान्तिपुर टेलिभिजनका पत्रकार जे. पाण्डेलाई सम्मान गरेको छ । बरिष्ठ उपसम्पादक पदमा बढुवा हुनुभएकोमा उहाँलाई सम्मान गरिएको हो ।