नेपाली कांग्रेसका आदर्शवादी नेता, बैचारिक र समाजवादी चिन्तक प्रदिप गिरीको निधनमा देश अहिले शोकमा डुबेको छ । गिरीको निधनले देशले एक निष्ठावान नेता गुमाएको छ । गिरी कांग्रेस नेता भए पनि उनी चरित्रको राजनीति गर्थे । नेपालको फोहोरी राजनीतिको खेलमा कहिल्यै नफसेका गिरीको निधन देशले एक होनहार सुपुत्र गुमाएको छ ।
७५ वर्षका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा हिजो राति ९ः३६ बजे निधन भएको हो । घाटीको क्यान्सर र निमोनियावाट पीडित गिरीको विगत तीन सातादेखि काठमाडौंस्थित मेडिसिटीमा उपचार हुँदै आएको थियो । पशुपति आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले गिरीको पार्थिक शरिरमा फुलमाला चढाएर मृत आत्माको चीर शान्तिको कामना गर्नुभएको थियो ।
यसैबीच, गिरीको निधनप्रति नेपाली कांग्रेस बाँकेले दुःख व्यक्त गरेको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलले आज जारी गर्नुभएको शोक वक्तब्यमा पूर्व केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य गिरीको असामयिक निधनले नेपाली कांग्रेस बाँके स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ । गिरीको निधनले पार्टी र समग्र मुलुकलाई अपूरणीय क्षती पुगेको शोक बक्तब्यमा उल्लेख छ ।