भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले नेपालगञ्जको मुहार फरिने गरी काम गर्ने बताउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आज नवनियुक्त मन्त्री राइलाई औपचारिकरुपमा स्वागत तथा सम्मान गरेको कार्यक्रममा उहाँले बाँकेका दुई वटा ठूला योजना केही दिनमै सार्वजनिक गरिने बताउनुभयो । मन्त्री राइले मन्त्रालय मातहत विभिन्न विकास निर्माणका काम भइरहेको भन्दै आफ्नो गृह जिल्ला बाँकेलाई विकासको उच्च प्राथमिकतामा राखिने विश्वास दिलाउनुभयो ।
त्यस अवसरमा नेपालगन्जका मेयर विष्टले मन्त्री राइको कार्यकालमा छोटो समयावधिमा दीर्घकालीन महत्व राख्ने योजना संचालनमा आउने अपेक्षा गरिएको छ भन्नुभयो ।
यसअघि नवनियुक्त मन्त्री राइलाई बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिहरुले सम्मान गरेका थिए ।