बाँकेमा अठार वर्षमाथिका नागरिकलाई दुई चरणमा खोप लगाउन शुरु गरिएको छ । आजवाट शुरु भएको खोप कार्यक्रम २६ गतेसम्म संचालन हुने जनाइएको छ । पहिलो चरण अन्तर्गत बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा खजुरा र जानकी गाउँपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले जानकारी दिनुभयो ।
यसैगरी, दोस्रो चरण अन्तर्गत असार २४ गतेदेखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाइने छ । स्वास्थ्य कार्यालय, बाँकेको तथ्यांक अनुसार, बाँकेमा ४ लाख ८१ हजार ८३३ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यस्तै ३ लाख ८५ हजार ८ सय ९२ जनाले दोस्रो र १ लाख ७ हजार ३०६ जनाले वुष्टर डोजको खोप लगाइसकेका छन् ।