नेपालगञ्ज, १६ चैत । नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा सोमबार बाँके शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रमका वक्ता पत्रकारले मोफसलका पत्रकारका लागि आयआर्जनका क्षेत्र साँघुरिँदै गएको भन्दै चिन्ता ब्यक्त गरे । स्थानीय स्तरमा पारिश्रमिकको समस्या रहेको भन्दै पत्रकारहरुले आर्थिक अभाव, पेशागत सुरक्षा जोखिम, स्रोत र साधनको कमी, तालिम र दक्षताको कमी, राजनीतिक दबाब र प्रभाव, सामाजिक दबाब, भ्रामक सूचना जस्ता चुनौतिहरुको सामना गर्नु परिरहेको उनीहरुको बुझाई छ । पत्रकारितामा व्यवसायिकतासँगै जिविकोपार्जन सहज बने पनि पछिल्लो समय पेशागत सुरक्षा जोखिममा रहेको उनीहरुको तर्क छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष तिलक गाउँलेको अध्यक्षता र अर्का उपाध्यक्ष करुणा शाहले स्वागत गरेको कार्यक्रममा महासंंघका पूर्व अध्यक्षहरु नीरज गौतम, प्रेम केसी, रुद्र सुवेदी, अन्नपूर्ण पोस्ट दैनिकका उपसम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, अकोराबका केन्द्रीय सदस्य मो। आरिफ अन्सारी, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, पत्रकार आशिष गुप्ता लगायतले सामाजिक सञ्जालका माध्यमबाट गरिने सञ्चार कार्यले पत्रकारिता क्षेत्र बद्नाम भइरहेकाले सरोकारवालालाई बुझाउन जरुरी रहेको बताएका थिए । कार्यक्रम सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।








