नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षा सुदृढ हुँदै गएको बताउनु भएको छ । नेपालगन्ज विमानस्थलमा आज संचारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले मुलुकभर निर्वाचनको वातावरण देखिएको बताउनुभयो ।
हामी पूर्वतिर पनि गयौं, सबैतिरको रिपोर्टिङ लिइरहेका छौं, मुलुकभर निर्वाचनको माहोल छ, उहाँले भन्नुभयो । बाँकेको अहिलेसम्मको काम कारबाही सुन्दा सन्तोषजनक पाएको उहाँको भनाई छ ।
जिल्ला सुरक्षा समितिले राम्रो काम गरिरहेको आफूले पाएको अर्यालले बताउनुभयो । निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रणमा लिएको दाबी गर्दै गृहमन्त्री अर्यालले यस पटक दण्डहिनता नरहने स्पष्ट पार्नुभयो।
सुदुरपश्चिमका विभिन्न जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिन जाने क्रममा गृहमन्त्री अर्यालसमक्ष बाँके जिल्लाको सुरक्षा अवस्थाबारे पनि ब्रीफिङ्ग गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो ।
गृहमन्त्रीको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।








