डुडुवा (बाँके), २९ माघ । बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदातासंग भेटघाट तथा घरदैलो अभियान तीव्र बनाउनुभएको छ । उहाँले निर्वाचन क्षेत्र अन्तर्गत नेपालगनञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ—टोलका मतदाताहरुसंग भेट्न घरदैलो गरिरहनुभएको छ । उम्मेदवार कोइरालाले आज विहीबार डुडुवा गाउँपलिका वडा नम्बर २ को बेतहनी, नौरीगौढी र बाणीगाउँका मतदाताहरुसंग भेटघाट गर्नुभएको छ ।
भेटघाटका क्रममा स्थानीयले गाउँघरका समस्याका बारेमा कुरा सुनाउँदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । उनीहरुले गाउँघरमा नाला, सांगुरो बाटो, खानेपानी धारा, माटो पटान, सिंचाई, मलखादको सहज आपूर्ति, सामाजिक सुरक्षा भत्ता सहजता लगायतका सवाल उठाएका थिए ।
स्थानीयका समस्या सुन्दै उम्मेदवार कोइरालाले आफू निर्वाचित भएमा वास्तविक समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले समुदायका समस्यालाई राम्रोसंग बुझेकाले ती समस्या समाधानका लागि नीतिगत रुपमा व्यवस्थापन गर्ने बताउनुभयो ।

मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारको बजेटले पशु, कृषि, स्वास्थ्य शिक्षाको विकास र विकास निमार्णको कार्यलाई प्राथमिकतामा राखेको र ठूलो आकारको बजेटबाट हुने कामका लागि प्रतिनिधि सभामा कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।








