नेपालगञ्ज, २९ चैत । स्थापनाको नवौं वर्षको अवसरमा होटल पौवाले आयोजना गरेको स्वाद उत्सव आज सकिएको छ । गत चैत २५ गतेबाट सुरु गरेको स्वाद उत्सवमा देशभरका १८ शाखाबाट झण्डै २ लाख पाहुनाले खाना परिकारको स्वाद चाखेको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताउनुभयो ।
स्वाद उत्सवको नेपालगन्जबाट समापन गर्दै अध्यक्ष भण्डारीले उत्सवमा सहभागी पाहुना तथा लगानीकर्ता, कर्मचारी पत्रकार एवं सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले पाहुनाहरुबाट आएको सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा अझै परिस्कृत र स्वस्थकर परिकारहरु उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । नेपालगन्जमा ५ तारे होटलको निर्माण प्रारम्भ भइसकेको जनाउँदै भण्डारीले २ वर्षभित्र पूर्ण सेवा दिने गरी काम भइरहेको जानकारी समेत दिनुभयो ।
‘अहिले आवासीय भवन निर्माणाधीन अवस्थामा रहेपनि रेष्टुरेन्ट, ब्याङ्केट, क्याबिनबाट सेवा दिन सुरु गरिएको छ’-अध्यक्ष भण्डारीले भन्नुभयो ।
यसैबीच, पौवाले नयाँ वर्ष २०८२ का अवसरमा ५ वटा शाखामा ‘न्यु इयर इभ’ गर्ने भएको छ । नवलपुरको हर्कपुर शाखा, रुपन्देहीको भैरहवा र बुटवल शाखा तथा दाङको भालुवाङ र घोराहीमा न्यु इयर इभ आयोजना हुने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले जानकारी दिनुभयो ।