नेपालगञ्ज, १९ माघ । रामजानकी मावि कोहलपुर, नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र आदर्श माविको पुरुष टिम नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा रहेको एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा आज भएको खेलमा रामजानकी माविले सुर्योदय माविलाई १–० ले हरायो । रामजानकीका गणेश आलेले ५१औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका आले म्यान अफ द म्याच घोषित भए ।
यस्तै, दोस्रो खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले आदर्श मावि खजुरालाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जितमा बिपिन खड्काले दुबै गोल गरेका थिए । खेलमा उत्कृष्ट बचाउ गरेका सेन्ट जेभियर्सका गोलकिपर सुजन सार्कीलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी, प्रतियोगिता अन्तर्गत भएको तेस्रो खेलमा आदर्श माविले बालविद्या मन्दिरलाई ३–१ ले पराजित गरेको छ । आदर्शको जितमा मनिष खड्काले १४औं मिनेट, जेनिस बोहराले ४६औं मिनेट र सन्तोेष बुढा मगरले ५३औं मिनेटमा गोल गरेका थिए । बाल विद्याका लागि प्रतिक सुनारले १६औं मिनेटमा गोल गरे । खेलमा म्यान अफ द म्याचको पुरस्कार आदर्शका सन्तोष बुढा मगरले प्राप्त गरेका छन् ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र र ५ छात्रा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।