नेपालगञ्ज, २० असार । बाँकेको नेपालगञ्ज—कोहलपुर सडकखण्डमा छतिवन जातका रुखका विरुवा रोपिएको छ । लुम्बिनी प्रदेश सरकारको ‘हरित सडक’ अभियान अन्तर्गत सो सडकखण्डको दुवै छेउ ८५६ वटा विरुवा रोपिएको डिजिजन वन कार्यालय नेपालगञ्जका प्रमुख अजितकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार, विरुवा संरक्षणका लागि तारवार गरिएको छ ।
वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले सबै मिलेर बोटविरुवाको संरक्षण गर्नुपर्छ भन्नुभयो । ‘वोटविरुवा रोप्नु महत्वपूण कार्य भए पनि त्यसको संरक्षण अझ चुनौतिपूर्ण हुने गरेकाले सबैले जिम्मेवारीबोध गर्नुपर्छ’—मन्त्री हमालले भन्नुभयो ।
कार्यक्रममा वन वातावरण तथा भू–संरक्षण मन्त्रालयका महाशाखा प्रमुख नारायणदेव भट्टराई, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, बाँकेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, हरित अभियन्ता हेमन्तराज काफ्ले लगायतको सहभागिता थियो ।