नेपालगञ्ज, ३२ असार । बाँकेमा अभैm ६० प्रतिशत खेत बाँझै छ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने अधिकाँश स्थानमा सिँचाई अभावमा रोपाई हुन सकेको छैन । कृषि ज्ञान केन्द्र बाँके प्रमुख सागर ढकालका अनुसार लामो समयसम्म पानी नपर्दा रोपाइ प्रभावित भएको हो । असारको दोस्रो साता पहिलोपटक परेको पानी र सिँचाई सुविधा पुगेका केही स्थानमा धान रोपाई गरेपनि आकाशे पानीको भर पर्ने किसानको खेत अभैm बाँझै रहेको छ । केन्द्रका अनुसार, बाँकेमा आजको मितिसम्म ४० प्रतिशत रोपाई भएको छ । सबैभन्दा बढी राप्तीसानोरीमा ३० प्रतिशत र नरैनापुरमा १० प्रतिशत धान रोपाई भएको छ । लामो समयसम्म पानी नपरेपछि बाँकेका कतिपय स्थानका किसानहरुले नालाको फोहोर पानी मोटर पम्पको सहायताले तानेर सिँचाई गरिरहेका छन् । रोपाई भएका धानबाली पनि खेतमै सुक्न थालेपछि किसानको चिन्ता अझ बढाएको छ ।
यसैबीच, लामो खडेरीपछि बाँकेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाले पहिलोपल्ट पूर्वी नहरमा पानी छोडेको छ । नहरमा पानी छोडेपछि किसानलाई भने केहि राहत भएको छ । राप्तीको पानी पूर्वी मूल नहरको २४ दशमलव ६ किलोमिटर दूरीसम्म पुगेको सिक्टा सिचाई आयोजना निर्देशक डा. सन्तोष कैनीले जानकारी दिनुभयो ।
आयोजनाले पूर्वी मूलनहरको २४ किलोमिटर क्षेत्रमा परीक्षणका लागि पानी सन्चालन गरेको हो । १४.५ क्युमेक पानी सन्चालन क्षमता भएको नहरमा हाल ७ क्युमेक पानी छोडिएको छ । २०७६ सालमा राजकुलो सिंचाई प्रणाली अन्तर्गत यस क्षेत्रमा करीब १ हजार हेक्टरमा सिंचाई सुविधा छ । तर अन्य क्षेत्रमा सिंचाई सुविधा थिएन । हालको पानीले फत्तेपुर सिंचाई प्रणाली अन्र्तगत २ हजार हेक्टरमा सिचाई सुविधा पुग्ने अनुमान गरिएको छ । यसबाट वडा नं ६ र ७ का १९ हजार ५२१ जनसंख्या लाभान्वित हुने जनाइएको छ । कृषि सम्भावना भएकाले बाँकेको फत्तेपुर, बैजापुर र विनौनामा नहरको पानी नियमित भएमा उत्पादन बढ्ने विश्वास गरिएको छ ।